अभिलाषित अस्तित्व
calendar_today2080-03-14history_eduभवेस अधिकारी
कहिले गुनगुनाउँछ
कहिले हाँस्छ
कहिले निरास हुन्छ
कहिले रुन्छ
कहिले चिच्याउँछ
कहिले टोलाउँछ
प्राय:
आफैमा रमाउँछ
आफैमा हराउँछ
त्यसैले त देख्दा मौन छ
चुपचाप छ।
खोज्छ खुशी बिर्सी आफैलाई
समेट्न खोज्छ आफ्नालाई
भन्छ:
“ जसो गर्यो त्यसै हुन्छ रे
राम्रो गर्नेको सधैँ भलो
अनि, नराम्रोको पनि एकदिन पक्कै पालो आउँछ रे
गरे हार, नगरे प्रहार
गरिरहन्छ जीवनले
हार पनि हार्ने छ एकदिन, भन्दै
विश्वास दिलाउँछ मनले ”
छर्न भन्छ प्रेम,
सबैका लागि सधैँभरि
सधैँ मुस्कुराऊ भन्छ अटल हिमाल सरी
प्रकृतिसँग जोड्न भन्छ अनेक नाता
चाहन्छ:
हिउँमा पग्लिन
सागरमा घुल्न
बाफमा उड्न
बतासमा बहन
बादलमा नाच्न
वर्षामा रुझ्न
थोपामा लुक्न ।।
मिसाउन चाहन्छ आफूलाई:
आशुको व्यथामा
चरीको गाथामा
कलमको कथामा
प्रियहरूको रोजाईमा
निस्वार्थीहरूको खोजाईमा
दुष्टहरूको सोचाइमा ।।
प्राय:
यस्तै उस्तै हुन्थे
कुरा उसका
गुनासा रहित
आफैमा पूर्ण
न खिज्याउँथ्यो कसैलाई
न बिझाउँथ्यो कसैलाई ।।
अचानक!
घडिले घुम्न
खोलाले बग्न
सडकले हिड्न
बन्द हुन्छ,
त्यो एकोहोरो बजेको शङ्खको ध्वनिसँगै ।
भन्छन्!
मानिसको अस्तित्व सदा जीवित रहन्छ
निश्चल थियो भने-
उसको भावना,
उसको चाहना,
उसको सोच,
उसको सिद्धान्त।
सदा रहने छ उ
सबैको माझ
सदा रमाउने छ उ
प्रकृतिको साथ
आत्माले त गर्यो देह त्याग उसको
तर, धर्तीमा विलीन हुँदै ,
मेटिँदै जाँदा अस्तित्व जीवनको ।
जीवित छन अझै
आकाशमा तारा बनी छरिएका,
उसको अभिलाषा मनको ।।